म पाको भएछू सबै बुझ्न थालें
जहाँ बाट सक्थें म नै झुक्न थालें||
लिने सोंच छाडी दिने चाह राखें
म पाको भएछू सबै बुझ्न थालें ||
खुसी भित्र मेरा भिजेका नुनेला
ति आँखा सपार्दै मिठो बोल्न थालें ||
धजो
मात्र बेर्दै दुपट्टा म बाँडे
म पाको भएछू सबै बुझ्न थालें ||
दुखेका ति घाऊ सबै ढाक्न थालें
मिलेका नराम्रा पिडा खप्न थालें
मिलेको पिंडो नै कतै छाड्न थालें
म पाको भएछू सबै बुझ्न थालें||
तजी लक्ष्य आफ्नो धरी स्वार्थ अन्त
सपार्दै कसैको सुनौलो दिगन्त ||
सबै चाहनाका जरा म उखालें
म पाको भएछू सबै बुझ्न थालें||
भुली बैगुनी का सबै दुःख मर्का
भयो भो तजौं ती पुरौं पूर्व धर्का
भनी जातिवैरी सितै हात जोडें
म पाको भएछू सबै बुझ्न थालें||