यह ब्लॉग खोजें

बुधवार, 25 सितंबर 2013

(हाँसेको) दैनिकी


(हाँसेको) दैनिकी

संधै संधै बिस्तरा मा पुगे पछी दैनिकी नलेखेको थै पछुतो हुने गर्छ। मन त्यसै त्यसै अमिलिन्छ र भन्ने गर्छ यार सामान्य कुरा भा पनि लेखेकै भये कति राम्रो हुन्थ्यो होला! धत्तेरी सबै ले लेख्ने बानी बसाल्न पर्छ भन्छन्। यो नपरे को बानी कसरी बसाल्ने खै? फेरी केही न केही त लेख्नै पर्यो भनी सोंची कपि निकाल्न थाल्छु। फेरी सोंच्छु के लोखौं ....... बिहान देखी बेलुकी सम्म सर्र फल्यास ब्याक गर्दा कुनै त्यस्ता कुरा हुंदैनन् जस्लाई लेखेर अमर गराई हालौं र अनागत जीवनलाई दिने यौटा पाथेय को पोको झुण्ड्याऊं।
त्यही बिहान उठेका, खाना खांदा खांदै अफिस जान हतार भयेका, स्याँ फ्याँ गर्दै अफिस पुगेका, अफिस मा बोसको नजर छलेर सुटुक्क गई आफ्नो काममा लाग्न खोज्दा बोस का भोल्टे आँखाले ट्याक्कै देखेर डर र लाजले भुतुक्कै भयेका, dally report पनि दिन नसकेर ठुस्ठुसी कनेका, स्टाफ मिटिङ् मा बसेर बोसको सपना रुपी भाषण सुन्दा सुन्दै वाक्क भयेर कुर्सी मैं निदायेका, त्यही निदायेकै कारण salary increment को जस्तो personal memo पायेका, यिनै सबै रोज मर्राका जीवनका अङ्ग भैसकेका छन्। इनलाई लेखेर केही तातो भुत्लो होला जस्तो लागेन।
अर्को कुरा कहिल्यै कनि कनि पनि कुनै कविता कथा काव्य केही कोर्न सकियेन। तर अर्काले लेखेको काव्य पढ्दा चाहीं ठ्याक्कै आफ्नै मनको भित्री कुरा लेखे को जस्तो लाग्छ। जति लेखक, कवि, कथाकार, व्यङ्ग्यकार, उपन्यासकार लाई पढ्छु तिनी हरूले लेखेको संसार म भित्र कतै रचि बसेको भान हुन्छ, लाग्छ त्यस कथाको पात्र म नै हुं। मेरै जीवन को आलो कथा को मूर्त रूप हो यो। यसरी त्यसै मा झ्वाम्मै डुबेर आफुलाई बिर्सने गर्छु अथवा त्यसै भित्र आफ्नो अस्तित्वको कल्पना गर्छु। यसरी पढ्दा पढ्दै मेरो मन पुरै वेश्या को जस्तो भै सकेको छ। जस्को काव्य मिल्यो उतै लत्रक्क। संस्कृत, हिन्दी, अंग्रेजी, नेपाली जे भेट्टाये पनि भयो, पढ्न थाले पाछी न खानको सुर्ता न सुत्न को टंटा। घोडा बेचेर सुत्ने उखान भन्छन् त्यो भन्दा त यौटा “उपन्यास लियेर घोर्रिने” जस्तो उखान भने राम्रो हुने थियो होला।
अब यस्तै जे पाये पनि शोक न सुर्ता भोक न भकारी सित पढ्न बस्ने म जस्तै का लागि होला राज शेखर ले “सतृणभ्ववहारी” (=घाँस घँसेटा जम्मै खाने) भन्ने पद दियेको। फेरी पनि म ठ्याक्कै अभिनव गुप्त ले भने जस्तो “सहृदय” नभये पनि, “विशदीभूत मनोमुकुर” न भये पनि “वर्णनीय’-तन्मयीभवन” योग्यता चाहीं कता कती आउने गर्छ। अब यत्तिका आधार मा कसरी लेखकले जस्तो या कुनै महा पुरूषले जस्तो दैनन्दिनी लेखेर राखौं त। आझ लेखी हाले पनि कसैले पढ्लान् र जग हंसाई गर्लान् भन्ने डर। इत्यादि अनेक विर्सिका सोंचेर न लेख्ने निधो गर्छु।यसरी मन लाई फकायेर सुत्छु लुपुक्क सित। अब यो त भयो मेरो संधै को दैनिकी को सारांशभूत प्रतिनिधि भूमिका। अब आज को गाँठी कुरो गरौं जस्का कारण म यो दैनिकी लेख्ने जमर्को गर्दै छु। अझ भनौं शशशृङ्ग जस्तो दैनन्दिन्याभाष लेख्ने विचार गर्दै छु।
कुरो के भने आज म हाँसें साँच्चै मरी मरी हाँसें। अकारण अचम्मै सित हाँसें। मरुभूमिमा हरियालि जस्तो आज म अफिस भित्रै हाँसें। आफ्नो हाँसो खटाउन खोज्दा आँखा बाट आँसु झारी झारी हाँसें। अफिस जस्तो राग र द्वेषका तुवांलाले गुर्रियेर अन्धकारियेको, तँछाड कि म छाड को प्रतिस्पर्धाले तुस्सियेर अमिला डकार निस्कने क्षेत्रमा पनि अचम्मै सित हाँसो निस्कियो।
यो हाँसो लाई वर्गीकरण गर्छु भनि विश्वनाथ जी को छ प्रकार का हाँसाहरू हेरें चित्त बुझेन। स्मित, हसित, विहसित, अवहसित, अतिहसित, हरू मध्ये कुनै मा पनि वर्गीकरण गर्न सकिन। हाँसोको आवलम्वन विभाव त पटक्कै मिल्ने छैन। उद्दीपनका लागी चाहिने भाव भङ्गिमा पनि त्यहाँ थियेन। बरु निरीह प्राणिको जस्तो रूञ्चे अनुहार थियो उस्को। जस्लाई देखेर म हाँसें। मेरो यो हाँसो आमा का मायालु हातले काउकुति दिंदा निस्केको जस्तो स्वर्गानुभूति गराउने खालको पनि थियेन। बाल्यावस्था को त के कुरा ठुलै भए पछि पनि साथीहरू संग अकारण हाँसेको जस्तो पनि थियेन। जस्मा तरूनि का कुरा हुन्थे या यौटाले अर्कालाई होंच्याउंदा निस्केको चटपटिलो हाँसो हुन्थ्यो। अब यो हाँसो मायालुका आंखासंग आंखा जुझ्दा निस्केको अनुरागी मुस्कान जस्तो पनि थियेन, जस्ले बिजुली चम्केझैं गरी पुरै शरीर जिरिङ्ङ गराउंदै संसार नै चम्कायेको भान हुन्थ्यो। अथवा हिस्सी परेकी कुनै नयां तरूनि पट्याउन खोज्दा हाँकेका फतुरा गफ सम्झेर एक्लै हाँसे जस्तो पुरस्कार जितेको अनुभव गराउने खाले पनि थियेन। कुनै कार्टुनिस्टको व्यङ्ग्य बाट निस्केको राजनीतिको हस्को आउने खाले पनि थियेन। अझ भन्नु पर्दा कुनै अबोध बालकको कलिलो मुस्कान लाई पछ्याउंदै हृदयको कुनै अन्तस्तल बाट निस्केको हार्दिक हाँसो जस्तो त हुने कुरै भयेन।
हाँस्ने का पनि आ-आफ्नै तरिका हुन्छन्। संसारलाई आतङ्कको भयावहता बाँड्ने ओसामा बीन लादेन Tom and Jerry हेरेर हाँस्ने गर्थ्यो रे। अब त्यसो त म पनि तिनि मुसा र बिरा लाई हेरेर हाँस्ने गर्छु। तर दांज्दा यो हांसो त्यो हाँसो संग पनि मेल खांदैन। र, यो प्रतिदिनको कोलगेट स्माईल भन्दा ठ्याक्कै अलग, मोनालिसाको स्मित भन्दा नौलो, ब्यङ्ग्यकारको टिप्पणी भन्दा पृथक् सत्ता भयेको, हास्यकविको हाँसो भन्दा नयां, बार वनिताको हिस्सि भन्दा भिन्न र उत्कृष्ट थियो मेरो लागि। यो मेरो वैयक्तिक अनुभव भित्र पनि पर्ने हुंदा त्यसो भयेको होला। यस्तो नौलो हाँसो मेरो उत्कृष्ट सृष्टि भनेर copy right खोजौं भने खरायोको सींग जस्तो छ् हाँसी सक्दा हराई त हाल्यो। अझ हाँस्दा म मात्रै हाँसिन अरू पनि हाँसेका छन्। सबैलाई हिस्सेदार बनाउनुपर्ला। भो छोडौं यिनी झुत्रे कुरा। न पत्याई फुटेको यो हाँसो को वास्तविक धरातलीय सिचुयेसन यस्तो थियो-
संधै जस्तो अफिसमा आफ्नै ढर्राले काम भै रहेको थियो। सबै का डेस्कटप खुलेकै थिये सबै सबै आ-आफ्नै काममा व्यस्त नै थिये। कोई पाठ लेख्दै थिये। कोई तिनै पाठ लाई लियेर Audio Visual को माध्यम बाट कसरी पढाउने भन्ने प्रारूपको कल्पना गर्दै थिये। यसै बीचमा खलबल कानाकानी हुंदै जूनीय ट्रेनी बाट सिनीयर सम्म, सिनीयर बाट ट्रेनरको डेस्कमा, ट्रेनरको डेस्क बाट Visual संयोजक का अगाडी हुंदै म संग पनि आई पुग्यो।
अब त्यहां लगभग अफिसको एक चौथाई जनसंख्या उभ्भियेर ठूलै विषय मा गहन तर मौन चिन्तन मा व्यस्त भये जस्तो देखिन्थ्यो। म पनि उसैको एक हिस्सा हुन पुगें। अडियो भिजुअल संयोजक ले प्रोजेक्ट देखाउन थाले। हेरें कुरो अति सामान्य थियो नयां केही थियेन। प्राक्कल्पना (HYPOTHESIS) मा कक्षा छः का संस्कृत जान्दै नजान्ने बालक लाई संस्कृत को माध्यमले विभक्ति ज्ञान गराउने रहेछ। पाठ ट्रेनिङ्ग का लागी नयां प्रशिक्षार्थी लाई दिईयेको थियो। फेरी पनि सोधि हालें -
“कस्ले लेखेको यो स्क्रिप्ट?”
उत्तर त्यही थियो। दोस्रो प्रश्न गरें अब यसमा समस्या कहां आयो भनेर। उनले देखाउंदै भने “यो विषय लाई कसरी देखाउने भिडियो मा! ऊ पनि चित्रको माध्यम ले?” मैले हेरें
तृतीया विभक्ति को उदाहरण लाई चित्र द्वारा देखाउन का लागी यसो लेखियेको रहेछ -
“पिता पुत्रेण सह गृहं गतवान्। ”
फेरी बराकेट भित्र -
(चित्रं योजयतु)
पनि लेखियेको थियो। त्यसै त भिजुअल संयोजक ननसंस्कृत र टेक्निकल फिल्ड बाट आयेको मान्छे त्यस माथी संस्कृतमा आदेश। बाँकी को कसर पुरा गर्यो असंबद्ध चित्र को कल्पनाले।
अब कुरो के भने सह को योग भये तृतीया विभक्ति हुन्छ। अब यो कुरा बुझाउन आधुनिक हाईपोथिसिस बनाउने उस्ताद ले उदाहरण दिने भूतकालको वाक्य ले। अब “ छोराले सहित भयेर बा घर गये ” यस्तो परिस्थिति बताउने कुनै चित्र नै मिल्दैन चित्र जे सुकै राखौं भने पनि “सह” जुन व्याकरण अंश लाई बोध गराउन चित्र राख्न खोजियेको हो त्यो “सह” लाई कत्ति पनि बुझाउन सकिंदैन। किन भने “पिता पुत्रेण सह’’ लाई देखाउन बाउ छोरा लाई चित्रमा संगै देखाउन पर्यो। “गतवान्” को भूतकाल लाई बताउन चित्र देखाउने कुरै भयेन। अर्थात् वहां गई सकेको अर्थ बुझाउने केही त्यस्तो जादू हाल्न पर्ने थियो जो सामान्य कसरत र सीमित संसाधनले हुने कुरै थियेन।
सबै ले मलाई नै टारगेट गरेर मुखामुख गरिरहेका थिये। मैले सोंच्न थालें अब के गर्ने? यो सिचुयेसन तात्तातै लयेर बोस का थाप्लामा घोप्ट्याउने र कसैले केही नजानेको प्रमाण पत्र को रूपमा प्रस्तुत गरी नंबर गेम खेल्ने....? अथवा कस्ले लेख्यो कस्को गल्ती हो त्यसैलाई भोल्टे आंखा तार्दै जीन्दगी मा केही नजानेको नपढेको बनायेर आफुलाई सर्वज्ञ बनाई हाल्ने! सोंच्नै सकिन। यसो आंखा उठायेर हेर्दा सबै का आंखाहरू निस्केर मेरा वरी परी काला बारूला झैं मलाई नै टोक्लान् कि झैं गरेर भन्भनि घुमेको मैले अनुभवरें। अब यिनी हरू मध्ये कसैलाई पनि दोष दिनु भनेको बारूला लाई जिस्क्याये जस्तो हो। नयाँ ट्रेनी लाई दोषी भने फेरी के को ट्रेनिङ्ग भयो त! तसर्थ यो परिस्थिति लाई यसै समेट्ने मन बनायें।
सबै लाई भने “यो कुनै प्रोजेक्ट हैन। कृपया यस्लाई इश्यु न बनाउं ।हामी सबै आफ्ना आफ्ना काममा लागौं।” यो सुन्दा बित्तिकै चित्र संयोजक चर्कियेर भन्यो “अबे मैं इसमें क्या डालूं, खाक?” शान्त सित मैले सम्झाउंदै भने “हेर्नुस् यो वाक्य को विवरण अनुसार बाउ छोरा घर गई सके। त्यसो भयेको हुनाले बाउछोरा को चित्र देखाउन मिल्दैन। अब घर गई सकेका हुनाले र वाक्य मा ‘घर’ शब्द आयेको हुनाले घर को चित्र राख्न मिल्थ्यो तर त्यो घर देखायेर कसरी प्रमाणित गर्ने कि बाउ छोरा त्यही घरमा गयेका हुन्? अथवा अन्य अरू कसैका घर गये? फेरी “गयो” यस्तो क्रिया-पदलाई बुझाउन एकातिरको आंधी एकातिरको झोलुङ्गो बनायेर केही हुनेवाला छैन। अर्को कुरा कस्तो बाटो गये डोरेटो, गोरेटो, घोडेटो या राजमार्ग हुंदै केही न भनियेकाले बाटाको चित्र देखाउने कुरै भयेन। अनि कसरी गये हांस्दै खेल्दै नाच्दै गाउंदै अथवा रूंदै केही पनि खुलस्त छैन। फेरी बस बाट, रेल बाट, साईकल बाट, मोटरसाईकल बाट, कार बाट अझ प्राचीन भषा भयेकाले रथ बाट, अश्व शकटिका बाट, वृषभ शकटिका बाट, पुष्पक विमान बाट, आन्दोलिका बाट, केही भनियेको पनि छैन। यिनी कुनै कुरा पनि चित्रमा राख्न मिलेन। अब “पुत्रले सहित भयेर पिता घर गये” यस्लाई बुझाउन का लागी हजूरले यौटा ‘बुङ्ङ धुलो उडेको चित्र’ हालेर साथमा यो वाक्य लेखिदिनुहोस् ‘पिता पुत्रेण सह गृहं गतवान्’ । अब पढाउने मान्छेले या पढ्ने मान्छेले आफै व्याख्या गरी हाल्छ नि (बुर्कुसि मार्दै गयेका रहेछन् र धुलो उड्यो भन्नेकुरो)। यो कुरो सुन्दा बित्तिकै त्यही नयाँ प्रशिक्षु हित्त गर्दै हाँस्यो। त्यस्को हाँसाले गर्दा मैले पनि आफ्नो हाँसो खट्न सकिन म हाँसें। म सांच्चै मरी मरी हाँसें....। अरू पनि हाँसेछन् त्यो देख्दा मैले आफ्नो हाँसो लाई नियन्त्रण गर्न खोजें। यसरी खटाउन खोज्दा आँखा बाट आँशु छाडी छाडी हाँसें। अफिस जस्तो राग र द्वेषका तुवांलाले गुर्रियेर अन्धकारियेको, तँछाड कि म छाड को प्रतिस्पर्धाले तुस्सियेर अमिला डकार निस्कने क्षेत्रमा पनि अचम्मै सित हाँसो निस्कियो। ................।

श्री विष्णु विजय स्तोत्रम् shri vishnu vijay stotram hindi translation पद्म पुराणोक्त विष्णु विजय स्तोत्र हिन्दी व्याख्या

shri vishnu vijay stotram hindie translation श्री विष्णु विजय स्तोत्रम् shri vishnu vijay stotram hindie translation विष्णु विजय स्तोत्र हिन...