यसका तीन तिर बाट सम्मा फाँट हरु छन्। एक तिर
बाट छङ छङ गर्दै बग्ने खोलो। गौंदि खोलो। केही पाईला अगाडि गयेपछी दरमखोला सित
विवाह गरेर उसैकी व्याउली हुंदै उफ्रंदै अगाडी बढ्छे यो गौंदी। सांच्चै खोलाको
आफ्नै रोमाञ्चका काँडा फुलाउन सक्ने संगीत हुन्छ। शास्त्रीय संगीतको राग जस्तो
(अथवा यसैले सिर्जेको धुनको नक्कल हो शास्त्रीय संगीत ?) हृदय छुने।
कल कल कल। त्यो कलकलको प्रतिध्वनि निकाल्ने यो भीर। आमाको करूण याचना - ‘बाबु न
जानु है भीरमा बरु तिमिहरूलाई म अन्तै बाट आज राम्रा हाडेकाफल ल्याई दिउँला।’ फेरी मलाई हेर्दै
भन्नुहुन्थ्यो - ज्ञानी छोरो भाईलाई हेर्दै यतै बस्नु है। आमाको मायाँको पोकामा
आशाका हाडेकाफलको स्वाद बसाउने गर्दथ्यो। अचम्म मीठो स्वाद थियो त्यो। मानसमा हाडेकाफलको
अनुराग जगाउंदै मुखबाट सर्र पानि बगाउने रसिलोपन।
आमाका कुराले हो कि
बानी नै त्यस्तै हो। फर्की फर्की त्यही भीरका थाप्लामा अजङ्ग सित उभियेको
हाडेकाफलले फेरी हामिलाई तान्न थाल्छ। विवश हामी फेरी तेतै पुग्छौं। बैसाखका टंटलापुरे
घाम। घामले रातियेको फाँट राता गईको पीठ जस्तो घुर्मैलो देखिन्थ्यो। त्यही फाँटको
प्रतिछाँया झैं लाग्ने पहेंला घाममा झल्किने घुर्मैला ति हाडेकाफलका पातहरू।
प्रकृति मा चैते हुरीको पछौटो अझै बाँकी छ। सर्र सर चल्छ। कति चीसो बोकेको त्यो
सिरेठो। अतृप्त आशाको सुस्केरा जस्तो। हृदयलाई छिचोल्दै हल्लाउँने। मनलाई त्यसै
त्यसै उराठिलो बनाउने। केही पाउन न सकेको अमिलो पन बोकेर भौंतारियेको जस्तो।
झ्वाम्म झ्वाम्म भीर बाट हाम फाल्दै खोलामा डुबेको अनुभव गराउँथ्यो। हावा सदा
हाम्रो आशाको विपरीत बग्ने गर्दथ्यो। खेत बाट खोलातिर।
वर खेतका आलीमा टुसुक्क
बसेर हवाले हल्लायेको हाडेकाफलको बुटालाई आज फेरी सम्झंदैछु। त्यो अबोधमनको कलिलो
कल्पनालाई। मेरो मनमा आज पनि त्यही यक्ष प्रश्न छ – “किन होला
हावा खोला बाट खेत तिर नबग्ने?” कति कति घण्टा
सम्म हावाको दिशा बदलियोस् खेततिर हाडेकाफललाई फर्काओस्। हावाले झारेका ति फल
हामिले खाउँ भन्ने मीठो आशामा हामी त्यसै त्यसै बस्ने गर्दथ्यौं। निश्चित भन्न
सकिंदैन स्वप्नमय ति कलिला नव पल्लव जस्ता आशामा बल्झियेर कसरी दिन बित्दथ्यो।
घामले आँत सुकेर हिरिक्क हुँदा पनि त्यो हाडेकाफलको आशाले छोडेन। बेलुकी पख आमा
आउँदा कहिलेकसो छोडेर संधै हामी त्यही खेतका आलीमा हाडेकाफललाई कुरेर बसेका
हुन्थ्यौं। जहाँ बसेर हावालाई उल्टो
हिंड्नका लागी पुकार्थ्यौं, बिन्ति चझढाउँथ्यौं,
न हिड्दा रिसाउँथ्यौं, गालि गर्थ्यौं। गालिले मर्ने भये हावा मर्नु पर्ने,
मायाँले पग्लिने भये बाटो फेर्नु पर्ने। तर कहिल्यै पनि दुईवटै कुरा भयेनन्।
यसरी बैसाख बित्छ र
जेठको पनि पन्ध्रह बाट खेत हिल्याइन्छ। फेरी रोपाईँ सकिये पछि त्यस वर्ष लाई
हाडेकाफल खाने हाम्रो सपना खेतमा गाडेको छापो संगै कुयेर जान्थ्यो। यिनै दिन हरुमा
आमाले कता कता मेला पर्म घाँस पात जाँदा ल्यायेका हाडेकाफल भने खान पाईन्थ्यो।
आमाका पटुका बाट निकालियेका दिनभर पिल्सियेका ति हाडेकाफल कहिले कांही त फलको
बाहिरी भाग र फलका नामको पछिल्लो भाग गुमाई सकेका हुन्थे। तिनै काफल का हाड लाई
आमाको मायाँको मधुरो रस सित मिसायेर कति आनन्दविभोर हुंदै खाने गर्थ्यौं। यसरी ति
हाडेकाफल खांदा त्यो भीरका हाडेकाफलको सम्झना झनै तीव्रतर भयेर उर्लिने गर्थ्यो।
जसो गरे पनि हामी र
हाडेकाफलको दूरी कहिल्यै पनि कम भयेन। न त्यो वृक्ष सम्मो ठाउँतिर आयो, न हामी
भीरमा गयेर त्यसका फल लाई टिप्ने साहस गर्यौं न त कहिल्यै त्यसका फल खाने र रमाउने
रसिलो कल्पना मरेर गयो। बस मात्र मरेर जान्थ्यो मात्र त्यो वर्षको वसन्तको बैंस,
त्यो वर्षको चैते हुरीको पछौटे पन। साथ साथ हाम्रा कल्पना जस्तै लाग्ने ति
हाडेकाफलका पाउला पात पनि रंग बदल्दै जान्थे। तर ति पाउला पलाउंदा पनि पुराना पात
झरेको खासै याद भयेन। हाम्रो कल्पना सुप्त भये झैं ति पनि नयाँ पात मुनि हुन्थे।
यसरी सर्पले काँचुली फेरे झैं प्रकृतिले आफ्नो चोला बदल्दै अर्को बसन्तलाई ओढ्न
पुग्छे। यता हाडेकाफलका पालुवार हाम्रा कल्पनाका पालुवा संगसंगै पल्वित हुन
थाल्छन्। फेरी अवसरको स्वर्णिम भविष्यलाई ताक्दै। यसरी आयेको नयाँ वर्ष र हाडेकाफलको संबन्ध भने उही पुरानो नै हुने
गर्थ्यो। चरालाई धपाउन फालेका माटाका डल्ला हाम्रा क्रोधका विकसित भाव भयेर
हाडेकाफल का बोट माथि बर्सिन्थे। आशा र कल्पनाको चैते हुरी वर्षेनी खेतको बाटो
हुंदै भीर बाट हाम फालेर खोलामा डुब्ने गर्थे। तर पनि बाल मनका कुनामा बसेका ति
अतृप्त भाव भने संधैका लागि कहिल्यै वइलियेर जान सकेनन्।
एघार वर्षको हुंदा मैले
घर छाडें। फेरी पनि अबोध अवस्थाको स्वप्नलाई मर्न न दिन भाई हरूले साथ दिंदै रहे।
हरेक वर्ष जसो उही वैसाखमा भाई हरूले हार्दिक अनुनय सित बोलाउने गर्थे। अब त ति
युवा भैसकेका थिये। रूखमा चड्न सक्थे। यथेष्ट टिपेर खान सक्थे। बाल्यकालका घटना
सम्झेर एउटा हाँगाका काफल पुरै मेरा लागी छुट्ट्यायेर छोड्ने गर्थे।
वर्षेनी पर्खन्छन्
वर्षेनी एउटा हाँगाका मेरा लागी छोडीदिन्छन्। वर्षेनी म करियरको चटारोले बाँधियेर
कतै परदेशका भवन जङ्गमा हराई रहेको हुन्छु। यसरी काफलको पर्खाईका अन्तमा पीडा
मिश्रित अमिलो स्वरमा भाईको फोन आउंछ – दाई हजुरका भागका काफल खान मन लागेन अन्त
सम्म पर्खियो केही तिनै तपाईंका रंगी बिरंगी चरिले खाये केही उतै भीरबाट झरेर गये
होलान्.....। हजुरत यो वर्ष पनि .......... भन्दा भन्दै संवाद दुबैतिर बाट बन्द
हुने गर्थ्यो। म संग अब युवा अवस्थाका कल्पना बाहेक केही थियेनन्। ति बाल्यकालका
भन्दा यि सपना यथार्थ र वास्तविक धरातलमा भये जस्तो लाग्थ्यो त्यो बेला। अनि
केटाकेटी अवस्थाका ति हाडेकाफलका बोटमा चड्न भर्याङ बनाउने कल्पना याद गरेर आफै
लजाउंथे। त्यो युवा अवस्थाको उडान सम्झेर आज भोली लजाउने गर्छु। अब सोंच्दा बाल्य
र युवा अवस्था मध्ये का कुन कल्पना मेरा पाथेय छन् कुन पाथेयले हिंडायेको जीवन
गोरेटो हो यो? भन्न अप्ठेरो पर्छ।
समयले पखेटा हाल्दै
गयो। भाईहरू पनि गुंड बाट फुर् फुर् उड्दै गये माईलाले घर छाडेर गये पछि दुईवटा
हाँगाका काफल छाडिन थालेछन्। केही वर्ष पछि कान्छो पनि नयाँ पखेटाले उडान भर्दै
गुंड रित्तो बनायेर गयो। अब बुवा आमाले पुरै रूखका काफल राखेर छोराहरू आउंछन् र
खाउंला भन्दै पर्खन थाल्नु भयेछ। तर हामी
भने प्रायजसो दसैंमा गयेर त्यही बुटा का टाउका माथी एकै दिन भये पनि चंगा उडायेर त्यस्लाई जीतेको अनुभव
गर्दै भाई हरू सित सहर तिर फर्किने गर्थें।
समयले चोला फेर्दै गयो।
बर्षेनी जाँदा बुबाको कपाल सेतिंदै गयेको हुन्थ्यो। आमाको कम्मर अझै नुगिसकेको
हुन्थ्यो। खोलो खोलो जस्तो लाग्दैन थियो। ति तरेली परेका फाँट अब फाँट नभयेर अनेक
घर छाप्रा र सडकले भरियेर उराठिंदै गयेका
थिये। यही क्रममा म पनि बा भै सकेछु। त्यस्का कयौं वर्ष पछि अहिले कसो कसो त्यो
जन्मभूमि र बाल्य स्मृति माधुर्य बोकेको चैते हुरी लाई सुंघ्न म उही स्वप्नील
संसारको बगैंचामा पुगेछु। खेतको आली त्यही थियो। हाडेकाफलको रूख त्यही थियो। हो
सररर बग्ने र यसरी बगेको हवा सित अंतरंग मिलन हुंदा मन कतै उडेर जाने हावा पनि
त्यही थियो। तर म ..... सांच्चै म पनि त्यहीं रहेछु। दिदी पनि भाई पनि त्यहीं नै
रहेछन्। त्यही खेतका आलीमा त्यसरी नै माटाका डल्ला फाल्दै। हाम्रा प्रतिबिम्ब हरू।
उही बाल्यकाल, उही कल्पना उस्तै काफलको संगीत बोकेर बसेका स्वप्निल आंखा। म वरै
बाट तिनी हरूलाई हेरिरहें। विस्मित जस्तै भयेर हेरिरहें। छोराको टोपी टाढै बाट
चिनिन्छ। भान्जी जेठी र नाईके जस्ति छन्। वरी परी साथिहरूको बथान छ। हेर्दा हेर्दै
पूर्वस्मृतिमा पौडिन पुगेछु। थाहै भयेन कतिखेर भान्जीले मलाई देखिछन् क्यारे
फाल्दा फाल्दैको ढुंगो लुकाउंदै सबैलाई
सजग बनाईन्। सबै लुरुङ् लुरुङ् मै तिर आये। जसरी बुबा आमा संग डरायेका हामि
हरु अनेकौं बहाना बनायेर जाने गर्दथ्यौं, हो त्यसरी नै उनी हरू आये। तिनि हरुको
सांचो झूटो कथा सुन्न भन्दा पहिलेनै मेरो मुख बाट निस्कियो –घर भित्र बस है म तिमि
हरूलाई हाडेकाफल ल्याई दिउँला अब देखी भिरमा नजानु। उनिहरू घर तिर लागे म
दिग्भ्रमित झैं त्यहीं छु। केही बेरको सोंचाई पछि म भिर तिर लागें। रूख अझै बढेको
रहेछ। रूख बढेको हो या मेरो दृष्टि बदलियेको हो, बुझ्न सकिन। जीवनको यो अवस्था मा पनि
म त्यस रूखका नजिकै जान सकिन। स्थूल भैसकेको योशरीर र बुटा चड्ने अनुभवलाई नै
तिलान्जली दियेको मेरो मानसले मलाई हेरेर नै चित्त बुझाउन भन्यो। मेरा आँखा
तिरमिराई रहेका थिये। म झूटो बन्दै थियें नानि हरुका दृष्टिमा। आमाको जस्तो पटुका
पनि म संग छैन खै के मा ल्याउन सक्छु ति हाडेकाफल। आज फेरी पनि म हार्दै थियें
त्यो वृक्षका सामु। त्यसै त्यसै घोरियेर म रित्तै फर्कियें। हाडेकाफलको मीठो
कल्पना मात्र लियेर फर्कियें।